‘हुनेले दिएर जाऔं, नहुनेले लिएर’
९ भदौ, विराटनगर । मोरङको केराबारी क्षेत्रको एउटा बन्द सटरमुनि टेबुल । टेबुलमाथि चामल, दाल लगायतका खाद्यान्नका पोका । सटरमा टाँसिएको सेतो कागजमा लेखिएको छ, ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर’ ।
झट्ट हेर्दा कतिपयलाई यो के होला भन्ने लाग्न सक्छ । तर यो हो स्थानीय युवाहरुले सन्चालन गरेको ‘फुड बैंक’ ।
लकडाउनका कारण मर्कामा परेका दैनिक काम गरेर गुजारा चलाउनेहरुलाई लक्षित गरी फुड बैंक सन्चालन गरिएको बताउँछन् अभियन्ता पप्पु साह ।
‘यही स्लोगनसहित यसअघि मास्क बैंक सञ्चालन गरेका थियौं,’ नेपाल तरुण दल केराबारीका सभापतिसमेत रहेका साहले भने, ‘शनिबारबाट फुड बैंक सुरु गरेका हौं, सबैको सहयोग पाइरहेका छौं ।’

प्रतिपरिवारले एक पटकमा एक पोका तेल, दुई केजी चामल, एक पाउ सोयाविन र १ पोका नुन निःशुल्क लैजान सक्छन् ।
सुरुमा स्थानीय युवाले आफ्नै खर्चमा खाद्यान्न खरिद गरी राखेका थिए । त्यसपछि सहयोगी हातहरु आउन थालेको साहले बताए । पहिलो दिन ६० जनाले फुड बैंकबाट खाद्य सामाग्री निःशुल्क लगेका थिए । आइतबार ८० र सोमबार २५० जनाले खाद्य सामग्री लगेको उनले बताए ।
भिडभाड बढेका कारण अभियान सञ्चालन गर्न समस्या भएको साहले बताए ।
एक टिप्पणी भेजें
0 टिप्पणियाँ