नेपालका लागि पाकिस्तानका राजदूतले भेटे रक्षामन्त्री पोखरेललाई

३१ भदौ, काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग बुधबार नेपालका लागि पाकिस्तानका राजदुत डा. मजर जाबेदले विदाइ भेट गरेका छन् ।

आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्किनु अघि जाबेदले सिंहदरबारमा पोखरेलसँग भेट गरेका हुन् ।

पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीका अनुसार भेटमा पोखरेलले नेपाल र पाकिस्तानबीच औपचारिक दौत्य सम्बन्ध स्थापना भएको समयदेखि हालसम्म असल
र मैत्रीपूर्ण सम्बन्ध रहेको चर्चा गरे । त्यसक्रममा दुई देश बीचको सम्बन्ध सरकार-सरकारबीचमा मात्र सीमित नभएर जनस्तरमा समेत प्रगाढ रहेको बताए।

पोखरेलले पाकिस्तानले चिकित्सा शास्त्र अध्ययन‚ सैनिक तालिम तथा प्रशिक्षण जस्ता क्षेत्रमा नेपाललाई गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि यस किसिमको सहयोग निरन्तर जारी रहने विश्वास व्यक्त गरे । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई समयको गतिसँगै निरन्तरता दिन तथा आपसी हित र सहयोगका नयाँ क्षेत्रहरू पहिल्याउँदै अघि बढ्न आवश्यक रहेको कुरामा पोखरेललेको जोड थियो।

पोखरेलले पाकिस्तानका उद्यमी, व्यवसायीहरूलाई नेपालको कृषि, पर्यटन, उद्योग, जलविद्युत लगायतका क्षेत्रमा लगानी विस्तार गरी दुवै देशबीचको आर्थिक सम्बन्धलाई थप सुदृढ तुल्याउन सहयोग गर्न आग्रह पनि गरे । राजदूत जाबेदले नेपाल र पाकिस्तानबीच असल कूटनीतिक सम्बन्ध रहेको चर्चा गर्दै आफ्नो नेपाल बसाइको अवधिमा नेपाल र पाकिस्तानबीच शिक्षा, व्यापार¸ पर्यटन,उद्योग र कृषि लगायतका क्षेत्रमा सहयोग प्रवर्द्धन गरी दुई देशबीचको सम्बन्धलाई थप घनिष्ठ र सुदृढ बनाउन सक्दो प्रयास गरेको बताए ।

दुई देशका सेनाबीच समेत असल र मैत्रीपूर्ण सम्बन्ध रहेको कुरा उल्लेख गर्दै महामहिम राजदूतले तालिम, प्रशिक्षण तथा उच्चस्तरीय भ्रमण मार्फत दुई देशको सेनाबीचको सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुगिरहेको जनाए ।

सोही अवसरमा जाबेदले रक्षा मन्त्रालयका सचिव रेश्मिराज पाण्डेसँग पनि उनकै कार्यकक्षमा शिष्टाचार भेटवार्ता गरेका थिए ।



एक टिप्पणी भेजें

0 टिप्पणियाँ