अमेरिकामा कोरोना महामारीकाबीच नेपालीहरुले मनाए दसैं

डिसी । कोरोना महामारीको चपेटामा विश्वमै सर्वाधिक थिलथिलो भएको राष्ट्र अमेरिकाका विभिन्न राज्य तथा शहरमा बसोबास गर्ने नेपालीहरुले २०७७ सालको विजया दशमी मनाएका छन् । अमेरिकामा समय फरक हुने भएकाले दसैं मनाउने क्रम जारी छ ।

गत वर्षझैँ नेपाली समुदायले दुई वटा साइतमा दुई दिन टीका लगाएका छन् । नेपाली समुदायले गत अक्टोबर २५ तारिख आइतबार र अक्टोबर २६ तारिख सोमबारका दिन टीका–जमरा ग्रहण गरेर दसैं मनाएका हुन् ।

यसपटक महामारीको कारण आफन्त, ठूला बडा, मान्यजनहरुबाट दुर्गा भवानीको प्रसाद स्वरुप टीका तथा जमरा आ–आफ्ना घरभित्र मात्र थापेका छन् । आफ्ना एकल परिवार वा घरभित्रै रहेका परिवारका सदस्यहरुबीच मात्रै दसैं मनाए भने आफू जान नपाएका आफन्तसँग भिडियो कलमार्फत् आशिर्वाद लिए ।

अमेरिकाका नेपालीहरुले नेपालकै शुभ साइत बिहान १० बजेर १९ मिनेटदेखि टीका थाप्न सुरु गरेका थिए ।

अमेरिकामा दशमी सोमबार कामको दिन परे तापनि अधिकांश नेपालीले बिदा लिएर भए पनि आफ्नो संस्कृति, परम्परा तथा चाडपर्वलाई मनाएका छन् ।

महामारीमा बाहिर निस्कन नपाइने हुनाले यस पटक अधिकांश नेपालीहरुले नेपालमा जस्तै आफ्नो पूजा कोठामा दुर्गा पूजा गरी किस्तीमा जमरा राखेका थिए । अमेरिकामा रहेका नेपालीहरुका मन्दिर र सामुदायिक केन्द्रहरुले समेत जमरा वितरण गरेका छन् ।

अमेरिकामा बसेका नेपालीहरुले दसैंको दिनमा खानका लागि सेलरोटि, मासुका विभिन्न परिकार, नेपाली शैलीका अचार तथा शाकाहारीको लागि फलाहार आदि व्यवस्था गरेका थिए ।

वर्ष दिनमा आउने महान चाड दसैंमा नेपाली पोशाक दौरासुरुवाल, भादगाउँले तथा ढाका टोपीमा सजिएका देखिन्थे भने महिलाहरु पनि राता सारी र गरगहनामा सजिएका थिए । अमेरिकामा जन्मिएका बालबालिकाहरु टीका जमरा र खाममा डलर पैसा पाउँदा निकै दङ्ग परेका देखिन्थे ।

अमेरिकामा हाल ३ पुस्ते परिवार पनि निकै भएकाले नेपाली समुदायले हजुरबा, हजुरआमा, मातापिता, सासुससुरा, पुरोहित, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरुबाट ऐश्वर्य वृद्धि तथा दीर्घायुको आशीर्वाद समेत लिएका छन् ।

विजयादशमी आफैँमा शुभ दिन भएकाले दिन भरि नै टीका लगाउने साइत हुने भएता पनि कोही आवत जावत नगर्ने भएकाले छिट्टै सम्पन्न भएको छ ।



एक टिप्पणी भेजें

0 टिप्पणियाँ