युरोपा लिग : दुई हजार दर्शकसामु आर्सनलको शानदार जित
१९ मंसिर, काठमाडौं । लण्डन क्लब आर्सनलले युरोपा लिगमा र्यापिड विएनालाई पराजित गर्दै समूह चरणमा अपराजित यात्रा कायम राखेको छ ।
यसअघि नै अन्तिम ३२ मा स्थान पक्का गरिसकेको आर्सनलले र्यापिडलाई ४-१ ले पराजित गर्दै लगातार पाँचौ जित हात पारेको हो । आर्सनलको जितमा एलेक्जान्डर लाजाकाटेले १०औं, पाब्लो मारीले १८औं, एडवार्ड एनकेतिहले ४४औं र एमिली स्मिथ रोवेले ६६औं मिनेटमा गोल गरे । र्यापिडका लागि कोया कितागयाले सान्वना गोल फर्काए ।
समूहमा पाँचौ जितपछि १५ अंकसहित आर्सनल शीर्ष स्थानमै छ ।
कोरोना भाइरस महामारीपछि पहिलो पटक आर्सनलले घरेलु मैदानमा दर्शकको अगाडि खेलेको हो । २७१ दिनपछि मैदानमा पहिलो पटक दर्शक उपस्थित भएका हुन् । मैदानमा दुई हजार दर्शक थिए । मास्क लगाएका उनीहरु भौतिक दुरी कायम गरी बसेका थिए । यसअघि गत मार्च ७ मा वेष्टहमलाई पराजित गर्दा पनि आर्सनलले दर्शकअघि खेलेको थियो ।
आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले मैदानमा दर्शक फर्किँदा जित हात पार्नु विशेष राहत भएको बताएका छन् । ‘उनीहरु फर्कँदा म खुशी छु । उनीहरुले ठूलो सहयोग गरेका छन् । त्यहाँ दुई हजार मात्र थिए तर अझ धेरै जस्तो लाग्थ्यो,’ अर्टेटाले भने ।
आर्सनलसँग पराजित भएपछि र्यापिड विएनालाई भने समूह चरण पार गर्न कठिन देखिएको छ ।
अर्को खेलमा मोल्डेले डुनडकलाई ३-१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लेको छ । मोल्डेको ५ खेलबाट ९ अंक छ भने र्यापिड विएनाको ६ अंक छ । समूहको अन्तिम खेलमा यी दुई खेल्दैछन् । बराबरीले पनि मोल्डेलाई समूह उपविजेता बनाउँछ भने विएनालाई स्पष्ट जितको आवश्यकता छ ।
एक टिप्पणी भेजें
0 टिप्पणियाँ