बुद्ध एअरको आरजु राइस मिल
१७ पुस, काठमाडौं । आन्तरिक उडानमा सबभन्दा बढी यात्रु बोक्ने बुद्ध एअरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत १५ वर्षयता हरेक वर्षायाममा खेतमा र्झछन् । कृषकहरुसँगै धान रोपाइँमा लाग्छन् र फर्कन्छन् ।
खेतीसँग बस्नेत परिवारको पुरानै सम्बन्ध छ । त्यसैले, २०६९ यता बुद्ध एयरले कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपाल कृषि कम्पनी नै स्थापना गरेर मोरङका विभिन्न गाउँपालिकामा धान खेतीमा लगानी गरिरहेको छ । प्रबन्ध निर्देशक बस्नेत भन्छन्, ‘बुद्ध एअरबाट हामी स्थापित भयौं, तर धरातल बिर्सनु हुँदैन भनेर धान खेती प्रवर्द्धन गर्न चाहेका हौं ।’
धान खेतीको यान्त्रीकरणमा करिब ७ करोड रुपैयाँ लगानी गरिसकेको बुद्ध एअर अब कृषि उद्यम थाल्ने तयारीमा छ । पछिल्लो १५ वर्षको अनुभवको आधारमा कृषिमा जोखिम उठाउन लागेको बस्नेत बताउँछन् । यो असफल भए आफू डुब्ने, सफल भए कम्तिमा २० हजार किसान उद्यमी बन्ने उनले बताए ।
धानमा बस्नेतले देखेको जोखिम र अवसर
धान खेती प्रवर्द्धनको लागि धेरै किसानका स-साना टुक्रा जमिन एकीकृत गरेर ठूला मेसिन प्रयोग गरिएका छन् । १५ वर्ष लगानी गरेको बुद्ध एअरले अब राइस मिल खोल्ने छ । बस्नेतले मिलको नाम आफ्नी जेठी छोरीको नामबाट जुराएका छन्- आरजु राइस ।
यसका लागि यसअघि जस्तै कृषकहरुलाई साथमा लिई चक्लाबन्दी प्रणालीमा धान खेती पनि गरिने छ । निश्चित क्षेत्रमा निश्चित जातको धान लगाइने छ । ती क्षेत्रहरुमा उत्पादन भएका सबै धान आरजु राइस मिलले किन्ने छ । त्यसका लागि बेलबारीको डाँगीहाटमा वार्षिक ६ हजार टन चामल उत्पादन गर्ने मिल राख्ने काम अगाडि बढेको बस्नेत बताउँछन् । डाँगीहाट बस्नेत परिवारको खेती भएको गाउँ पनि हो ।
मिल चलेपछि धान फलाउने कृषक र चामल खाने उपभोक्ताबीचमा रहेका अनेकौं ‘ब्रोकरको चेन’ तोड्ने काम हुने बस्नेत बताउँछन् । उनी भन्छन्, ‘किसानको खेतबाट सीधै धान उठाउने र मिलबाट चामल उपभोक्तासमक्ष पुर्याउने अवधारणामा काम थालेका हौं ।’
यसबाट किसानले धानको उचित मूल्य र उपभोक्ताले तुलनात्मक रुपमा सस्तो मूल्यमा गुणस्तरीय चालम पाउने उनको विश्वास छ । ‘हामी कृषकलाई अधिकांश नेपालीको भान्सामा पाक्ने मसिनो जातको धान रोप्न भन्छौं, बस्नेत भन्छन्, ‘बजारमा कायम ‘ब्रोकर चेन’ छलेर हाम्रो चामल उपभोक्ताकोमा पुग्दा मूल्य स्वतः कम हुनेछ ।’
उनी गुणस्तरीय चामल बेच्न धेरै जोखिम देख्दैनन् । एउटा मिलले एक क्षेत्रभरका सयौं कृषकलाई एकीकृत गरेर समान जातको धान खेतीमा लगाउनु चाहिँ चुनौती मान्छन् । तर, १५ वर्षसम्मको सम्बन्ध र सहकार्यको अनुभवले आफूलाई त्यो जोखिम मोल्न हौसला दिएको उनी बताउँछन् ।
यसको सबै तयारी बुद्ध एयरकै भगिनी संस्था नेपाल कृषि कम्पनीबाट भइरहेको छ ।
प्रारम्भमै १५ करोड लगानी
कम्पनीले राइस मिलमा १५ करोड रुपैयाँ लगानी योजना बनाएको छ । प्रवन्ध निर्देशक बस्नेतको अनुसार, पाइलट प्रोजेक्टको रुपमा यो लगानी हुँदैछ । यसमा उनले व्यक्तिगत जोखिम लिँदैछन् । नयाँ काम भएकाले यसमा उनी सफल नै हुन्छन् भन्ने ग्यारेन्टी छैन, असफल हुने कारण पनि देख्दैैनन् ।
पहिलो चरणको एक सिजनमा दुई हजार मेट्रिक टन र त्यसपछि वार्षिक ६ हजार मेट्रिक टन चालम उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । यती चामल उत्पादन गर्न पुग्ने धान खेती बेलबारीमै रहेको बताउँदै प्रबन्ध निर्देशक बस्नेत भन्छन्, ‘यसका लागि १०-१२ हजार कृषकको सहभागिता चाहिन्छ ।’
उनका अनुसार, मोरङमा थोरै-थोरै खेत हुने किसान धेरै छन् । यो कारण पनि जग्गा चक्लाबन्दी गर्न चुनौती रहेको उनी बताउँछन् । तर, नेपाली कृषिमा उद्यमशीलता खोज्न आफूले यो जोखिम लिएको उनले बताए ।
बुद्ध एअरको यो योजनामा मेघा बैंक जोडिँदैछ । कृषकले यो बैंकबाट सहुलियतपूर्ण ऋण लिएर धान रोप्न सक्नेछन् । कृषकको धान मिलले उचित मोलमा किन्ने निश्चित भएपछि बैंकको कर्जा डुब्ने छैन । यसबाट तीनवटै पक्ष लाभान्वित हुने बस्नेतको बिचार छ ।
राइस मिलमा कृषकलाई शेयर
वार्षिक ६ हजार मेट्रिक टन चामल उत्पादन गर्ने योजना सफल भएपछि मिलको क्षमता विस्तार गरेर वार्षिक २० हजार मेट्रिक टन पुर्याउने प्रबन्ध निर्देशक बस्नेतको सोच छ । दोस्रो चरणमा मिलमा कृषकको पनि लगानी प्रोत्साहन गरिने उनले बताए ।
‘कुनै बीमा कम्पनीले आईपीओ माग्दा मागभन्दा तेब्बर आवेदन पर्छ’, बस्नेत भन्छन्, ‘हामीले त उद्यम गर्ने हो, यसमा सयौं कृषकलाई मिल मालिक बनाउन सक्छौं । समृद्धिको यो मोडल सफल पार्न हामी लागेका छौं ।’
भन्सार विभागको तथ्यांक अनुसार नेपालले वार्षिक ३ खर्ब रुपैयाँ हाराहारीको खाद्यवस्तु आयात गर्छ । त्यसमा करिब ५० अर्ब धान र चामलको हिस्सा छ । यसलाई थोरै मात्र घटाउन सके पनि पर्याप्त बिजनेस देख्छन् बस्नेत ।
‘कृषिमा आधुनिकीकरण भनेको के हो ? एक बिघा मात्र खेत भएका हजारौं कृषकले खेतीमा चाहिने उपकरण आफैं कसरी किन्न सक्छन् ?’ बस्नेत प्रश्न गर्छन्, ‘सक्दैनन् भने कम्पनी मोडलमा खेती र उद्यम गरेर नाफा बाँड्ने होइन र ?’
यसबाट कृषीमा कम लगानीमा यान्त्रीकरण सहज हुनुको साथै कृषक र उपभोक्ता दुवै लाभान्वित हुने बस्नेतको भनाइ छ ।
मिलको चामल सीधै उपभोक्तामा
मिलबाट उत्पादन भएको चामल सीधै उपभोक्तालाई बेच्न देशभरका मुख्य शहरमा वितरण केन्द्र खोल्ने प्रबन्ध निर्देशक बस्नेत बताउँछन् । विद्युतीय भुक्तानी लिएर घरमै चामल डेलिभरी गर्ने प्रणाली पनि अपनाइने उनले बताए ।
‘१५ वर्ष खेतमा भिडेर देखेको सम्भावना हो, सपना हो । यसबाट मैले नाफाको आशा पनि गरेको छैन’, बस्नेत भन्छन्, ‘बुद्ध एयरको कमाइले मेरो भान्सा राम्रै चलेको छ, यो प्रयास हजारौं कृषकको मुहारमा खुसी ल्याउनको लागि हो ।’
एक टिप्पणी भेजें
0 टिप्पणियाँ