‘डा.उपेन्द्र देवकोटाले सरुवा गरेपछि न्यूरो सर्जन बनें’

‘तपाईंहरुमध्ये को राम्रो डाक्टर बन्न चाहनुहुन्छ ?’

चिकित्सा विज्ञान अध्ययन संस्थानका प्रोफेसर सोध्छन् । चिकित्सा शास्त्र अध्ययन गर्ने अधिकांश विद्यार्थी सगर्व हात उठाउँछन् । एक छात्रालाई इंगित गर्दै प्रोफेसर सोध्छन्, ‘अँ, तिमी । के तिमीलाई लाग्छ कि तिमी राम्रो डाक्टर बन्नेछौं ?’

छात्रा खुसीसाथ भन्छिन्, ‘यस सर ।’

‘किन ? यस्तो खास कुरा के छ तिमीसँग ?’ प्रोफेसर जान्न खोज्छन् ।

‘किनभने म बिरामीको पीडालाई आफू स्वयम् महसुस गर्न सक्छु । म डाक्टर होइन, एक मित्र बनेर उनको सहयोग गर्न चाहन्छु ।’

छात्राको जवाफ सुनेर प्रोफेसर उपहासपूर्ण हाँस्छन् । र, भन्छन्, ‘मैले २५ वर्षको करियरमा कहिले पनि बिरामीसँग मित्रता गाँसिन । कुनै बिरामीको पीडा महसुस गरिन ।

केवल त्यो पीडाको उपचार गरें ।’

प्रोफेसर भन्दै जान्छन्, ‘म बिरामीलाई प्रेम गर्न सक्दिन । कन्फ्युज्ड ? हँ ?’

विद्यार्थी अलमलमा पर्छन् । प्रोफेसर आफूलाई स्पष्ट पार्दै भन्छन्, ‘यो मेरो हात हेर । यसले हजारौं अप्रेसन गर्‍यो, तर यो हात कहिल्यै काँपेन । तर, मैले मेरी छोरीको अप्रेसन गरे भने …..यी हात जरुर काँप्नेछन् । किन ? किनभने म मेरी छोरीलाई प्रेम गर्छु ।’

चिकित्साशास्त्रका विद्यार्थी अलमलमा पर्छन् । प्रोफेसर आफ्नो तर्क अरु जोडदार रुपमा पेस गर्छन्, ‘बिरामीप्रति लगाव, साहनुभूति, प्रेम एक डाक्टरको कमजोरी हो ।

आगामी पाँच वर्षसम्म तिमीहरूलाई यही सिकाइनेछ कि, डाक्टरको लागि बिरामी केवल एक रोगी शरीर हो । अरु केही होइन ।’

०००

राजकुमार हिरानी निर्देशित हिन्दी चलचित्र ‘मुन्ना भाइ एमबिबिएस’को यो संवादले चिकित्सा विज्ञानको एउटा निर्मम पाटो उदांगो पार्छ ।

चिकित्सा विज्ञानले ‘मानवीय संवेग’सँग कुनै सरोकार राख्दैन ? यो स्थूल शरीरभित्र वेदना, भय, आशंका, आस्था, आशा, स्नेह जस्ता भाव-तत्व पनि घुलनशिल हुन्छ भनी बुझ्दैन ? के बिरामी फगत ‘रोगी शरीर’ मात्र हो ?

प्रा.डा. राजीव झा यसो भन्दैनन् । उनी त के भन्छन् भने, ‘तपाईंले बिरामीको दुःख आफुले अनुभूत गर्न सक्नुभएन भने उनलाई राम्ररी उपचार गर्न सक्नुहुन्न ।’ दुई दशकको करियरमा उनले हजारौं जटिल र नाजुक केस सम्हालेका छन् । उनका त्यही हातहरू, जसले क्षतविक्षत टाउकोमाथि ब्लेड चलाएका छन् । अक्सर भययुक्त सन्नटा छाइरहने अपरेशन थिएटरभित्र न्युरो सर्जनको रुपमा उभिएको बेला उनी कामना गर्छन्, ‘हे भगवान्, उनलाई ठीक होस् ।’

उपचार, अप्रेशन, औषधि मात्र काफी छैन, बिरामीका लागि । यदि त्यसो हुँदो हो त, उही प्रकृतिका बिरामी, उही रोग, उही समस्या । अनि उपचार विधि उही, चिकित्सक उही । तर, नतिजा ?

नतिजा एकरुपता हुँदैन । कोही पूर्णत निको हुन्छन् । कोही आशिंक निको हुन्छन् । कोही निको हुँदैनन् । रोग उस्तै, समस्या उही, उपचार उस्तै, चिकित्सक उही । तर समान नतिजा आउँदैन । किन ?

यही प्रश्नले एउटा रहस्य जन्माउँछ, जुन स्थूल शरीर अनि भौतिक उपचारभन्दा अलि टाढा र अदृश्य छ । डा. झालाई लाग्छ, ‘समान समस्या बोकेर आएका बिरामीलाई समान उपचार गर्दा जसरी नतिजा फरक निस्कन्छ, त्यसले के स्पष्ट पार्छ भने बिरामीको भावनात्मक अवस्था, मनोबलमा पनि यसमा खास भूमिका खेल्छ ।’ यसर्थ एउटा बिरामीसँग चिकित्सक भावनात्मक रुपले जोडिनैपर्छ ।

अझ रहस्यमय कुरा, कति यस्ता बिरामी आउँछन् जसमा चिकित्सक विज्ञान हार खाइसकेको हुन्छ । चिकित्सा सिद्धान्त, उपकरण वा विश्वव्यापी प्रवृत्तिले पनि त्यस्ता बिरामीमा मृत्युको जोखिम बढी देख्छ । ‘विज्ञानमा हामीले जुन कुरा देखेको छौं, जुन कुरा पढेका छौं कि यस्ता रोगमा ९५ प्रतिशत मृत्यु हुन्छ’ डा. झा सुनाउँछन्, ‘असंभव जस्तै लाग्ने रोग पनि निको हुन्छ । आठ-दश दिनमा बिरामी डिस्चार्ज भएर हिँड्दै घर जान्छन् । यसलाई हामी आफैपनि मिराकल भन्छौं ।’

डा. झा यसका साक्षी हुन् । उनले देखेका छन्, ‘हजारौ बिरामी यसरी नै मृत्युको मुखबाट फर्किएका ।’

अप्रेसन थिएटर सामुन्ने हात धुने ठाउँमा सिसाको सानो झ्याल हुन्छ, जहाँबाट बिरामी प्रत्यक्ष देख्न सकिन्छ । त्यहाँ हात धोइरहँदा उनको मनमा स्वतः यस्तो भाव जाग्छ, ‘मेरो बिरामी निको भइदियोस् ।’ उपचार सफल हुनु, बिरामी निको हुनु एउटा चिकित्सकको निम्ति परम सन्तोषको स्थिती हो । डा. झा भन्छन्, ‘बिरामी निको भएर खुसीसाथ घर फर्किएको देख्दा हामी जति आनन्दित हुन्छौं, त्यती अरु कुराले सायदै हुन्छौं ।’

तर, एउटा कुराले भने उनलाई खिन्न बनाउँछ । अत्यन्तै जटिल समस्यासहित आएका बिरामीको कठिनपूर्वक उपचार गरिन्छ । बिरामी निको हुन्छन् । बेडबाट उठ्छन् । रोगी शरीर लिएर अस्पतालमा आएका उनी रोगमुक्त भएर बाहिरिन्छन् । तर, आफुलाई कसले निको बनाए ? कसले उपचार गरे ? कसले अप्रेसन गरे ? सोधीखोजी गर्दैनन् ।

निको बनाउने चिकित्सकप्रति कृतज्ञ देखिदैनन् वा व्यक्त गर्दैनन् । ‘आफुलाई रोगमुक्त गराउने चिकित्सकप्रति कृतज्ञता व्यक्त गर्दा अरु केही त हुने होइन’ उनको बुझाइ छ, ‘चिकित्सकको आत्मविश्वास बढ्छ । यो ठूलो कुरा हो ।’

उनले १८ हजार बढीको शल्यक्रिया गरेका छन् । त्यसमध्ये कतिपय यस्ता अवस्थाका थिए, जो अत्यन्तै नाजुक र जटिल पनि । यद्यपि त्यसमध्ये थोरै बिरामी मात्र यस्ता छन्, जो उनीसँग कृतज्ञ भए र भावनात्मक रुपमा जोडिन आए ।

‘मान्छे जुन सतह एवं धरातलमा उभिएको हुन्छ, त्यहाँबाट देखिने क्षितिजमा पुग्ने आकंक्षा राख्छन् । आफ्नो मेहनत, श्रमले ऊ त्यो क्षितिजमा पुग्छ । जब त्यहाँ पुग्छ, उसले फेरि अर्को क्षितिज देख्छ ।’

उनले पहिलो पटक जुन केस सम्हालेका थिए, त्यसमा एउटी बच्ची थिइन् । छतबाट खसेर भयानक अवस्थामा अस्पताल ल्याइएकी । त्यसबखत डा. झा केही डराएका थिए, ‘मेरो पहिलो केस नै असफल त हुने होइन ।’ तर, त्यसो भइदिएन । उपचारपछि उनी निको भइन् । घर फर्किन् । र, फेरी फर्किएर आइन्, धन्यवाद भन्न । उनी अझैपनि बेलाबखत डा. झालाई भेट्न आउँछिन् ।

चिकित्सा पेशा आफैमा अपजसे । बिरामी निको भए त ठीकै छ । निको भइदिएनन् भने चिकित्सकमाथि अनेक आशंका र आरोप थोपरिन्छ । कतिपय घटनामा चिकित्सकको लापरवाही हुनसक्छ । तर, अक्सर चिकित्सकहरू आफ्ना बिरामी निको होस् भन्ने नै चाहन्छन् । डा. झा सुनाउँछन्, ‘अस्पतालमा भएको बेला मात्र होइन, घरमा परिवारसँग बसेको बेला होस् वा राति सुत्ने बखत, आफूले हेरिरहेका बिरामीहरुको याद आउँछ । उनीहरुको अवस्था जान्न मन लाग्छ ।’ यदि कुनै बिरामीको अवस्था सुधार भएमा आफुलाई सन्तोष लाग्छ । स्थिति थप जटिल भएमा छटपटी बढ्छ । डा. झाको अनुभव छ, ‘हरेक डाक्टरले बिरामीको पीडा आफैभित्र बोकेर बाँचेको हुन्छ ।’

चिकित्सा पेसा नै यस्तो हो कि, जहाँ आराम र विश्राम दुर्लभ जस्तै हुन्छ । न खाने टुंगो, न सुत्ने । सधै अपजस बोक्नुपर्ने । आरोप खेप्नुपर्ने । त्यसो भए किन उनले यस्तो पेशा रोजे त ?

उपेन्द्र देवकोटा : एक टर्निङ प्वाइन्ट

‘तपाईं किन न्युरो सर्जन नै बन्नुभयो ?’ भन्ने प्रश्नमा डा.उपेन्द्र देवकोटाले अन्तर्वार्ताकारलाई भन्छन् ‘मान्छे जुन सतह एवं धरातलमा उभिएको हुन्छ, त्यहाँबाट देखिने क्षितिजमा पुग्ने आकांक्षा राख्छन् । आफ्नो मेहनत, श्रमले ऊ त्यो क्षितिजमा पुग्छ । जब त्यहाँ पुग्छ, उसले फेरि अर्को क्षितिज देख्छ ।’

न्युरो सर्जनलाई उनले चिकित्सा क्षेत्रको पनि अरु चुनौतीपूर्ण पेसाको रुपमा संकेत गरेका छन् । घतलाग्दो संयोग, उनै उपेन्द्र देवकोटासँगको घर्षणले डा. राजीव झालाई न्युरो सर्जन बनायो ।

‘म न्युरो सर्जन बन्नुको पछाडि पनि रोचक कथा छ’ डा. झा रसिक मुद्रामा यसरी सुनाउँछन्, ‘जब म मेडिकल अफिसरको रुपमा बीर अस्पतालमा काम गरिरहेको थिएँ, त्यसबखत मेरो ड्युटी एमर्जेन्सीमा थियो । त्यहाँ पन्ध्र दिनमा एक पटक डा. उपेन्द्र देवकोटा आफ्ना टोलीसहित राउन्डमा आउनुहुन्थ्यो । म उहाँलाई त्यहाँको स्थितिबारे ब्रिफिङ गरिदिन्थें । उहाँ त्यति नबोल्ने । यद्यपि मलाई नोटिस गर्नुभएको रहेछ ।’

केही समयपछि डा. झालाई पत्र आयो सरुवाको । उनलाई एमर्जेन्सीबाट न्युरो सर्जन विभागमा सरुवा गरिएको थियो । त्यसबेला न्युरो सर्जन विभागमा डा. उपेन्द्र देवकेटासँग काम गर्न सबै डराउने । सबैजनाको बुझाइ के थियो भने, डा. उपेन्द्र देवकोटा कठोर एवं कडा छन् । डा. झा सरासर बीर अस्पतालका निर्देशकका कोठामा पुगे । निर्देशक दामोदर पोखरेल थिए । डा. झाले गुनासो गरे, ‘सर, मलाई किन एमर्जेन्सीबाट सरुवा गरिएको ?’

निर्देशक पोखरेलले शान्त भावमा भने, ‘यो हामीले होइन, डा. देवकोटाले गर्नुभएको हो । उहाँले नै तपाईंलाई आफ्नो विभागमा राख्न चाहनुभएको हो ।’

उनी डा. देवकोटासँग काम गर्न थाले । बाहिरबाट हेर्दा मान्छे जस्तो देखिन्छ, संगत गर्दै गएपछि भिन्न हुन्छ । यस्तै लाग्यो, डा. झालाई । उनी देवकोटाको काम गर्ने शैलीबाट प्रभावित भए । न्युरो सर्जरी जस्तो जटिल र संवेदनशिल काममा उनी क्रमस अभ्यस्त हुँदै गए । अन्ततः उनले न्युरो सर्जन नै बन्ने निधो गरे ।

आज उनको हातले १८ हजार बढीको शल्यक्रिया गरिसकेको छ । यहाँसम्मको यात्रा तय गरिसक्दा पनि उनलाई लाग्दैन, चिकित्सा विज्ञान आफैमा पूर्ण हो । यो अझै अपूर्ण छ र दिनदिनै नयाँ नयाँ कुराहरु भइरहेका छन् । त्यसैले हरेक दिन नयाँ कुरामा अपडेट हुनुपर्छ । भइरहेका पनि छन् । आज एउटा चिकित्सक मात्र होइन, शल्यचिकित्सक र त्यसमा पनि न्युरो सर्जनको रुपमा आफुलाई सक्रिय राखेका छन् । चिकित्सा विज्ञानका विद्यार्थीलाई अध्ययपन पनि गराइरहेका छन् । यतिबेला उनी सम्झन्छन्, आफ्ना पितालाई जसले आफ्नो अधुरो इच्छा उनीबाट पूरा गराउन चाहे ।

‘मेरो बुवाको सपना पुरा गरें भन्ने लाग्छ’ डा. झा गर्व गर्छन्, ‘आज म जति सन्तुष्ट छु, त्यो भन्दा बढी सायद मेरो बुवा हुनुहुन्छ ।’

आखिर किन पिताजीले उनलाई चिकित्सक नै बनाउन चाहे ? यो उत्सुकता मेट्न पाँच दशक अगाडि फर्कनुपर्छ ।

बुबाको सपनालाई विपना बनाउँदा…

तराईको पनि एकदमै बिकट बस्ती । स-सानो झुप्रो । त्यही गाउँमा जुम्ल्याहा दाजुभाइको रुपमा जन्मिए, राजीव झा । गाउँ भएपनि के खाउँ, के लाउ भन्ने समस्या थिएन । भनौं, हजुरबा हुनेखाने । हजुरबा चाहन्थे, आफ्ना सन्तान पढेलेखेको भइदियोस् । त्यही अनुसार छोराले पढे र सरकारी जागिरे भए । कृषि क्षेत्रमा रोजगारी गर्न थाले ।

‘हामीलाई घरमै पठन-पाठनको व्यवस्था मिलाइएको थियो’ डा. झा सम्झन्छन्, ‘शिक्षक आउँथे, पढाउथे, परीक्षा लिन्थे । यसरी नै तीन कक्षासम्म घरमा पढियो ।’ उनका अनुसार त्यसबेला विद्यालय घर पायक र सहज नभएकाले घरमै पढ्ने परिपाटी थियो ।

बुवाको जागिर कृषिमा । उनी सुनसरीको इटहरी नजिक तरहरमा काम गर्थे । आफ्ना बालबच्चालाई त्यही राखेर पढाउन थाले । चार कक्षामा भर्ना भएर रजीव झा पहिलो पटक विद्यालय गए । ‘त्यसबेला सरकारी विद्यालय मात्र हुने’ झा भन्छन्, ‘हामीले पनि सरकारी विद्यालयबाटै पढाइ पूरा गर्‍यौं ।’

तरहरापछि बुवाको सरुवा भयो, जनकपुरमा । उनीहरू त्यही पुगें । जनकपुरकै सरकारी विद्यालयबाट एसएलसी दिए । सेकेन्ड डिभिजनमा पास भए ।

बुवा चाहन्थे, आफ्ना दुई जुम्ल्याहा छोरामध्ये एकजना इन्जिनियर र अर्को डाक्टर बनेको हेर्न । खासमा त बुवा आफै पनि चिकित्सक बन्न चाहन्थे । पढ्ने अवसर पनि पाएका थिए । तर, घर परिवारवाट मुस्लिम मुलुकमा गएर पढ्ने अनुमति नपाएपछि उनले आफ्नो रहरलाई थाँती राखे । र, त्यो अधुरो इच्छा दुई छोरामध्ये एकबाट पूरा गरेको हेर्न चाहे ।

बुवाकै इच्छा अनुसार राजीव र उनका जुम्ल्यहा भाई थप पढाईका लागि काठमाडौं आए । त्रिचन्द्र कलेजमा भर्ना भए । विज्ञान संकाय लिएर पढ्न थाले । त्यसबेला माइक्रोबायोलोजी नयाँ कोर्स थियो, त्यही रोजे ।

दुबै पाटनढोकामा डेरा बस्थे । एउटा कोठा । ओछ्यान त्यही, भान्सा त्यही, पढ्ने त्यही । स्टोभमा दम दिदै खाना पकाउनु, जुठो भाँडवर्तन सफा गर्नु, हिँड्दै त्रिचन्द्र कलेजसम्म पुग्नु, पठनपाठन गर्नु, साथीभाईसँग ख्यालठ्टा गर्नु उनीहरुको दैनिकी थियो । यसरी नै उनीहरुले आइएस्सी सिध्याए ।

त्यसपछि बाटो खुल्यो, चिकित्सक बन्ने । राजीव झा जर्मनी गए । चिकित्सा विज्ञान पढे । सात बर्षमा पढाई सिध्याएर काठमाडौं फर्किए ।

‘सुविधा र अवसरको हिसाबले त जर्मनी वा अमेरिकातिर बस्न सकिन्थ्यो होला । तर, त्यसबेला हाम्रो मनमा आफ्नै देश र्फकनुपर्छ भन्ने भावना स्वतस्फूर्त रुपमा गडिएको रहेछ ।’

काठमाडौं फर्किए लगत्तै बीर अस्पतालमा इन्र्टसीप गर्न थाले । त्यहाँ इन्टरसीप सिध्याएको भोलिपल्ट नै मेडिकल अफिसरको रुपमा जागिर पाए । जर्मनीबाट एमबिबिएस सकाएर आएसँगै जनरल सर्जरी पढे तीन बर्ष । त्यसपछि न्युरो सर्जरीको अर्को चार वर्षे कोर्स गरे पीएचडी बराबरको । अहिले यही विभागमा प्रोफेसरको रुपमा काम समेत गरिरहेका छन् ।

बुवा एक रोलमोडल

एकपटक डा. झाले आफ्ना पिताजीलाई अपरेशन थिएटरमा पुर्‍याए । अपरेशन थिएटर बाहिर एउटा सानो झ्याल हुन्छ, जहाँबाट भित्रको दृश्य प्रत्यक्ष नियाल्न सकिन्छ । त्यसपछि उनीहरू विरामीको शल्यक्रिया गर्न थाले । तर पिताजी दुई सेकेन्ड पनि त्यहाँ अडिएनन् । ‘उहाँले त अप्रेसन गरेको हेर्नै सक्नुभएन’ डा. झा सम्झन्छन्, ‘त्यसपछि बुवाले मलाई सोध्नुभयो कि कसरी तिमीहरू दिनदिनै त्यस्तो काम गर्छौ ?’

जबकि बुवाकै इच्छा अनुसार झालाई यहाँसम्म आइपुगेका थिए । बुवाको सपना थियो, जुम्ल्याहा छोरोमध्ये एकलाई डाक्टर र अर्कोलाई इन्जिनियर बनाउने । उनको सपनाले यतिबेला मूर्त आकार ग्रहण गरिसकेको छ । राजीव झा चिकित्सा पेशाको पनि एउटा लोभलग्दो उचाइमा छन् । भाइ इन्जिनियरिङबाटै आफ्नो सुनौलो भविष्यको रेखांकन गर्दैछन् । ‘मेरो बुवाले जे चाहनुभएको थियो, त्यो हामीले पूरा गरिदियौं ।’

सानो छँदादेखि बुवाको सही अभिभावकत्व पाएको उनी सम्झन्छन् । ‘बुवाले सधै सही बाटोमा मात्र हिँड्न प्रेरित गरिरहनुभयो’ डा. झा भन्छन्, ‘आज पनि मेरो कुनैपनि निर्णयमा बुवाको अहंम भूमिका हुन्छ । वास्तवमा बुवा नै मेरो सम्पूर्ण रोल मोडल हुन् ।’

यन्त्रवत दैनिकी

चिकित्सा पेशामा लागी सकेपछि जुनसुकै बेला उपचारका लागि तयार रहनुपर्छ । कुनैबेला मध्यरातसम्म काममा खटिनुपर्ने हुन्छ । कहिले भोक तिर्खा सहनुपर्ने हुन्छ । डा. झा पनि यसका अपवाद होइनन् ।

‘ठ्याक्कै कतिबेला खाने, कतिबेला सुत्ने भन्ने टुंगो हुन्न’ उनी सुनाउँछन्, ‘यद्यपि सकेसम्म आफुलाई फिट एन्ड फाइन राख्ने प्रयास भने गरिन्छ ।’ सामान्य अवस्थामा उनी साँझ आठ-नौ बजे घर पुग्छन् । तर, कहिले काहिँ भनेर रातभर नै काममा खटिनुपर्ने हुन्छ । ‘खासगरी न्युरो सर्जरीमा कुनैपनि केस समयमै सकिन्छ भन्ने हुँदैन’ उनी थप्छन्, ‘समय हेरेर शल्यक्रिया गर्ने कुरा पनि भएन । अहो चार बजिसक्यो, अब मेरो अर्को क्लिनिकमा जानुपर्नेछ भन्ने कुरा भएन । त्यसैले हाम्रो खानेसुत्नेको कुनै ठेगान हुन्न ।’

सामान्यत दिनमा पनि घर पुग्दा राती आठ बजेको हुन्छ । घर पुगेपछि नुहाईधुवाई गर्ने । त्यसपछि परिवारसँग बसेर एकछिन रमाउँछन् । ‘बालबच्चासँग पनि केही क्षण कुराकानी गर्नुपर्‍यो’ उनी भन्छन्, ‘त्यसपछि समय मिल्यो भने एक घण्टा जति पढ्ने । मेडिकल साइन्स यस्तो विषय हो कि, हरेक दिन पढ्नैपर्छ । नयाँ के भइरहेको छ भनेर अपडेट हुनैपर्छ ।’

प्राय घरबाहिर निस्कदा उनको झोलामा खानेकुरा पनि साथमै हुन्छ । त्यहाँ ब्रेकफास्ट, लन्च, स्न्याक्स सबै हुन्छ । गाडी चलाएको बखतमा उनी स्न्याक्स लिइरहेका हुन्छन् । ‘खाना त चिल्लो, पिरो नै मन पर्ने हो’ डा. झा भन्छन्, ‘तर, उमेर, पेशा आदिले गर्दा खानाम होशियार हुन जरुरी हुन्छ । जथाभावी खानै भएन ।’

न्युरो सर्जरीमा १२ घण्टासम्म पनि उभिएर काम गरिरहनुपर्ने, खटिनुपर्ने हुन्छ । उनी भन्छ, ‘त्यसैले आफुलाई उर्जावान, फिट राख्नका खानपानमा विशेष ध्यान दिने गर्छु।’



एक टिप्पणी भेजें

0 टिप्पणियाँ