बी डिभिजन क्लबका खेलाडी सम्पर्कविहीन

१५ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक बी डिभिजन लिगका खेलाडीहरु क्लबको सम्पर्कबाहिर रहेको भन्दै अब हुने बाँकी खेलका लागि खेलाडीलाई क्लबसँग सम्पर्कमा रहन सूचना जारी गरेको छ ।

गत वर्ष भएको बी डिभिजन लिगका खेलहरु कोरोना महामारीका कारण बीचमै स्थगित भएको थियो । एन्फाको कार्यसमितिको बैठकले कोरोना महामारीको कारण रोकिएको बी डिभिजनका बाँकी ३४ खेलहरु फागुन ११ बाट सुरु गर्ने निर्णय गरिसकेको छ ।

तर लिग खेल्ने क्लबका खेलाडीहरु भने क्लबको सम्पर्कमा नआएपछि एन्फाले बुधबार सूचना जारी गर्दै खेलाडीलाई सम्पर्कमा आउन भनेको हो ।  ।

एन्फाले सूचना जारी गर्दै खेलाडीलाई क्लबसँग सम्पर्क गर्न अनुरोध गरेको छ र खेलाडी सम्पर्कमा नआए कारबाहीसमेत हुने चेतावनी दिएको छ ।

‘बी डिभिजन क्लबका खेलाडीहरु आफ्नो सम्बन्धित क्लबको सम्पर्कमा नआएको जानकारी प्राप्त भएका कारण सम्पूर्ण खेलाडीलाई तुरुन्तै आफ्नो क्लबको सम्पर्कमा रहिदिनुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ,’ एन्फा महासचिव इन्द्रमान तुलाधरले हस्ताक्षर गरेको सूचनामा भनिएको छ, ‘सूचनाको पालना नगरी सम्पर्कमा नआउने खेलाडीहरुलाई एन्फाले नियम बमोजिम कारबाही गर्ने जानकारी गराइन्छ ।’

गत वर्षको चैत ११ गते देश कोरोनाका कारण लकडाउन भएपछि  एन्फाले बी डिभिजन लिग तत्कालका लागि स्थगित गरेको थियो । त्यसपछि बी डिभिजनका क्लबहरुले खेलाडीलाई छाडेका थिए । तर, लिग सुरु हुनै लाग्दा खेलाडीहरु सम्पर्कबाहिर रहेपछि क्लबले एन्फासँग खेलाडी सम्पर्कमा ल्याउन सहयोग मागेको हो ।



एक टिप्पणी भेजें

0 टिप्पणियाँ