बर्दियामा बाघको आक्रमणबाट गैंडा गणकको मृत्यु
२३ चैत, काठमाडौं । बर्दियामा बाघको आक्रमणबाट गैंडा गणनामा खटिएका एकजना कर्मचारीको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा कार्यरत ठाकुरबाबा नगरपालिका–९ का ३१ वर्षीय पुलिसराम थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
गैंडा गणनामा प्रयोग गरिएको हात्तीका लागि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र घाँस काट्दै गर्दा पुलिसरामलाई आइतबार साँझ करिब पाँच बजे बाघले आक्रमण गरेको थियो । उनको सोही दिन राति आठ बजे शव फेला परेको सहायक संरक्षण अधिकृत असिम थापाले बताए ।
पुलिसराम झण्डै एक दशकदेखि हात्तीसारमा कार्यरत थिए । उनलाई आक्रमण गरेको आशंकामा निकुञ्जका अधिकारीहरुले एउटा वयस्क बाघलाई डार्ट गरी नियन्त्रणमा लिएका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेसँगै मानिसहरुलाई आक्रमण गर्ने घटना पनि बढेको छ । नरभक्षी बाघलाई नियन्त्रणमा लिएर खोरमा थुन्ने कामलाई पनि निकुञ्जले जारी राखेको छ । यसअघि मानिसलाई आक्रमण गर्ने एउटा बाघलाई निकुञ्जले नियन्त्रणमा लिए पनि सो बाघ खोरबाट भागेको थियो ।
एक टिप्पणी भेजें
0 टिप्पणियाँ