सत्ता समीकरणको कसरतः कांग्रेसले पहल थाल्यो, बल जसपाको ‘कोर्ट’मा
२७ चैत, काठमाडौं । नयाँ सरकार गठनको पहल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार अपराह्न ३ बजे माओवादी केन्द्र र जनता समाजवादी (जसपा) पार्टीका शीर्ष नेताहरुसँग छलफल गर्दैछन् ।
२० चैतमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकार गठनका लागि पहल गर्ने निर्णय गरे बमोजिम नयाँ सत्ता समीकरणबारे छलफल गर्न देउवाले बैठक बोलाएका हुन् ।
आजको बैठकमा देउवा कांग्रेसको नेतृत्वमा सरकार बनाउने सम्बन्धमा पार्टीले लिएको निर्णय औपचारिक रुपमा जानकारी गराई माओवादी केन्द्र र जसपाको औपचारिक धारणा माग्ने तयारीमा छन् ।
नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले वैकल्पिक सरकार गठनका लागि अधिकत्तम सहमति जुटाउनको लागि माओवादी केन्द्र र जसपासँग छलफल गर्न थालिएको बताए ।
जसपाका नेता राजकिशोर यादवले बैठकको आयोजन गर्ने कांग्रेसले के प्रस्ताव ल्याउँछ, त्यो सुनेर आफ्नो पार्टीको धारणा राख्ने बताए । उनले अनलाइनखबरसँग भने, ‘अहिले नै के कुरा राख्ने भन्ने होइन, उहाँहरुको कुरा सुनेर आफ्नो धारणा राख्छौं । हामी यस्ता बैठक र छलफलमा सक्रियतापूर्वक सहभागी हुन्छौं ।’
माओवादी चाहिँ ओली सरकार र नयाँ सरकार गठनका सम्बन्धमा नेपाली कांग्रेस र जसपाको आधिकारिक धारणा बुझ्ने र सोही अनुसार भावी रणनीति बनाउने योजनामा छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर नयाँ सरकार गठन गर्न प्रमुख विपक्षीले पहल नलिएको भनी सर्वत्र आलोचना भएपछि पछिल्लो समय देउवाले सार्वजनिक रुपमा नयाँ सरकार गठनका लागि आवश्यक संख्या पुग्ने अवस्था नरहेको बताउने गरेका छन् । सत्ता समीकरणमा केन्द्रित रहेर प्रमुख प्रतिपक्षीले बैठक बोलाएको यो पहिलो पटक हो । यो बैठकबाट तीन दलको विचमा वार्ता टोली बनाउनेबारे निर्णय हुन सक्ने एक नेताले बताए ।
कांग्रेसले सरकार बनाउन पहल गर्ने निर्णय गरेलगत्तै पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलले जसपाका नेता महन्थ ठाकुरसँग एकसरो कुराकानी गरे तर त्यसपछि वार्ता अगाडि बढ्न सकेको थिएन । पौडेलले देउवा आफैंले जसपाका नेताहरुसँग कुराकानी गरेमा सरकार निर्माणमा सहमति जुट्ने बताएका थिए । कांग्रेसको निर्णयपछि माओवादी केन्द्र र जसपा देउवाको पहलको पक्षमा थिए ।
निर्णायक शक्ति जसपाले अझै पनि सरकार गठनका सम्बन्धमा निर्णय नलिइसकेका कारण तत्कालै नयाँ समीकरण बन्ने सम्भावना भने कम छ । किनभने नयाँ सरकार गठनका विषयमा जसपामा स्पष्ट दुई धार देखिएको छ । डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष ओलीको तत्कालै विकल्प खोज्नुपर्ने पक्षमा छ भने महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष ओलीसँग निरन्तर सम्वादमा छन् ।
कांग्रेसका नेताहरु नयाँ सरकार गठनको बल जसपाकै कोर्टमा रहेको बताउँछन् । केही दिन अगाडि अनलाइनखबरसँगको कुराकानीमा कांग्रेस नेता प्रकाशशरण महतले नयाँ सरकार बनाउने विषय जसपामा निर्भर रहको बताएका थिए । उनले भनेका छन्, ‘हुन त माओवादी केन्द्रले पनि सरकारको समर्थन फिर्ता लिएको छैन । उहाँहरुले प्राविधिक कारण देखाउनु भएको छ । त्यसो हो भने माओवादी केन्द्रमा समस्या नहोला तर जसपामा अन्योल नै छ ।’
जसपाका नेताहरुले भने सरकार बनाउन चाहने पार्टीले आफ्ना मागहरु पूरा गर्ने स्पष्ट रोडम्याप ल्याउनुपर्ने बताइरहेका छन् । तर, सरकार गठनमा अग्रसर कांग्रेस तत्कालै त्यसका लागि तयार देखिदैन, न त यस विषयमा उसले पार्टीमा औपचारिक छलफल नै गरेको छ । कांग्रेस नेताहरु संविधान संशोधन लगायत जसपाका मागहरुको सम्बन्धमा सकारात्मक रहे पनि टीकापुर काण्डका मुख्य अभियुक्त ठहर भई जेल जीवन बिताइरहेका रेशम चौधरीको रिहाइको माग निर्वाचन अगाडि पूरा गर्न नसकिने बताउँछन् ।
सरकार गठनको पहल गर्ने कांग्रेसको निर्णयपछि जसपाका नेताहरुले फरक–फरक अभिव्यक्ति दिइरहेका छन् । जसपाका नेता महन्थ ठाकुरले त आफूहरुसँग परामर्श नगरी कांग्रेसले एकलौटी निर्णय लिएको समेत बताएका छन् । यति मात्र होइन, जसपाका नेताहरुले आगामी सरकारको नेतृत्वमा आफूहरुको स्वाभाविक दावी भएको समेत बताउन थालेका छन् तर यस सम्बन्धमा पार्टीले कुनै औपचारिक निर्णय भने गरेको छैन ।
जसपाको आन्तरिक अवस्था अन्योल बन्दै गएको छ । ओली सरकारलाई पार्टीका केही नेताले समर्थन गरेमा पार्टी फुटको तहसम्म पुग्न सक्ने एकथरी नेताहरुको भनाइ छ भने अर्काेथरी नेताहरु ओलीले आफ्ना मागहरु पूरा गर्ने प्रक्रिया अगाडि बढाएको बताएका छन् ।
यति मात्र होइन, जसपाका केही नेताले प्रधानमन्त्री ओलीसँग गरेको वार्तालाई समग्र पार्टीले अपनत्व समेत लिएको छैन । नेताहरुको विवादका कारण जसपाको पार्टीको बैठक समेत बस्न सकेको छैन ।
गत पाँच गतेका लागि सो दलको कार्यकारिणीको बैठक बोलाइएको थियो तर एक राजनीतिक प्रतिवेदनमा उत्पन्न विवादका कारण बैठक बस्न सकेन ।
महन्थ ठाकुर र राजेन्द्र महतो लगायतका नेताहरु आफ्ना मागहरु पूरा भएमा ओली सरकारलाई नै समर्थन गर्न सकिने बताएका छन् ।
जसपाका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो लगायतका नेताहरु प्रधानमन्त्री ओलीसँग रेशम चौधरीको रिहाई लगायतका अन्य नेता रिहाइको बारेमा वार्तामा रहेका कारण पनि जसपाले अहिले कुनै पनि निर्णय गर्न सकेको छैन ।
विहीबार मात्रै जसपाले विभिन्न मुद्दा लागेका २०० सय भन्दा बढी नेता र कार्यकर्ताको नामावली गृहमन्त्रालयलाई बुझाएको छ । केही मुद्दा फिर्ताको लागि प्रक्रिया पनि शुरु भएको छ । त्यसैले जसपाका नेताहरु ओलीसँगको वार्ताको परिणाम केही समय कुर्ने पक्षमा छन्, त्यसैले जसपाले सरकारका सम्बन्धमा तत्काल कुनै निर्णय नगर्न सक्छ ।
अहिले संसदमा ३२ सिट भएको जसपा एकताबद्ध भएर कांग्रेसलाई समर्थन गर्ने निर्णय नगरेसम्म संसदले वैकल्पिक सरकार दिन सक्ने अवस्था देखिदैन । जसपाले एकीकृत रुपमा निर्णय नगरेसम्म नयाँ सरकार गठनको सम्भावना देखिदैन ।
विहीबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका नेता वृषेशचन्द्र लालले आफूहरुले उठाएका मागहरु सम्बोधन भएपछि मात्र सरकार निर्माण विषयमा कुराकानी हुने बताए । उनले भने, ‘हाम्रो एजेण्डा स्पष्ट छ, हामी सरकार परिवर्तन गर्ने वा नयाँ सरकार बनाउने भन्ने होइन, हाम्रो मुद्दा सम्बोधन हुनुपर्छ ।’ उनले माग पूरा गर्नका लागि सरकारसँग वार्ता गर्नुपर्ने र सरकारसँग वार्ता गरिरहेका वार्ताकारहरु उत्साहित रहेको पनि बताए ।
उता माओवादीले भने वैकल्पिक सरकार बन्ने अवस्था सिर्जना भएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइरहेको छ ।
उसले सरकारको नेतृत्व दावी गरेको छैन । यस अगाडि नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक–पटक देउवालाई प्रधानमन्त्रीको रुपमा स्वीकार गर्न तयार रहेको बताएका छन् ।
एक टिप्पणी भेजें
0 टिप्पणियाँ