चितवनका अस्पतालहरूमा आजसम्म छैन अक्सिजनको समस्या
२६ वैशाख, चितवन । कोरोना संक्रमित भएर गम्भिर अवस्थामा पुगेका बिरामीका लागि अक्सिजनको सप्लाई अनिवार्य छ । त्यस्ता बिरामीलाई अक्सिजनविना एकछिन पनि जोगाउन मुस्किल हुँदै गएको देखिएको छ।
अक्सिजनको अभावमा कतिपय जिल्लामा संक्रमित भएका बिरामीहरूको ज्यान गएको समाचार बाहिरिन थालेका छन् । मेडिकल सिटीको उपमा पाएको चितवनका अस्पतालमा अहिलेसम्म अक्सिजनको अभाव भने देखिएको छैन ।
बिरामीको चाप बढ्दै जाँदा अक्सिजनको अभाव हुनसक्ने देखिएकोले स्टकको व्यवस्थापनमा जुटिरहेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी बताउँछन् ।
यहाँका अस्पतालमा अहिले ३५६ जना विभिन्न जिल्लाका कोरोना संक्रमितको उपचार भैरहेको छ । तीमध्ये अधिकांश अक्सिजनको सपोर्टमा उपचार गराइरहेका बिरामी छन् । अक्सिजनको सपोर्ट नचाहिने कोरोना संक्रमितहरू होम आइसोलेसनमा बसेका छन् ।
जिल्लामा सक्रिय संक्रमितमध्ये २३ सय ७ जना होम आइसेलेसनमा छन् भने १६४ जना मात्रै अस्पतालमा छन् । चितवनका तीन ठूला अस्पताल भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस् भरतपुरमा कोरोना संक्रमित अधिकांश बिरामी राखिएका छन् ।
भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेसमामध्ये भरतपुर अस्पताल र चितवन मेडिकल कलेजको आफ्नै अक्सिजन प्लान्ट छ । कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज)को पनि आफ्नै प्लान्ट छ तर नवलपुरको गैंडाकोटमा । सिलिण्डरमा अक्सिजन भरेर बिरामीलाई दिदैँ आएको कलेजका निर्देशक डा. मनोहर प्रधानले बताए ।
उनले अहिले बिरामीहरूका लागि अक्सिजनको अभाव नरहे पनि संक्रमितको संख्या थपिदै गए गाह्रो हुनसक्ने बताए । त्यसका लागि सिलिण्डरको ब्याकअप चाहिने बताए ।
चितवन मेडिकल कलेजमा अहिले १४९ जना कोरोना संक्रमित बिरामी राखिएका छन् । अधिकांशलाई अक्सिजनको सपोर्टमा राखिएको कलेजका प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले बताए । तीमध्ये आधाभन्दा बढी चितवनभन्दा बाहिरी जिल्लाका बिरामी हुन् ।
‘अहिलेसम्म हाम्रो अस्पतालमा कोभिडका बिरामीका लागि अक्सिजनको कुनै अभाव छैन, ३७० बेडसम्म हाम्रो प्लान्टले धान्न सक्छ, सिलिण्डर ब्याकअप पनि छ’, प्रबन्ध निर्देशक डा. न्यौपानेले भने, ‘कलेजले नेपालमै सबैभन्दा धेरै १८३ बेड कोभिड आइसियू सेटअप तयार गरेको छ, कोभिडको २५३ बेडमा अक्सिजनको सेटअप छ ।’
राजधानी काठमाडौंसहित देशका विभिन्न भागबाट हेलिकोप्टरमा चितवनमा कोरोनाका गम्भिर बिरामीहरू ल्याउन थालेकोले अहिलेको सेटअपले धान्न नसक्ने हो की भन्ने चिन्ता थपिएको डा. न्यौपानेले बताए ।
धेरै कोरोना संक्रमितको उपचार गरेको भरतपुर अस्पतालको आफ्नै अक्सिजन प्लान्ट छ । सो प्लान्टबाट अक्सिजनको सप्लाई सिधै बिरामीलाई दिइएकोले अक्सिजनको अभाव नभएको अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले बताए ।
अस्पतालमा २४ घण्टामा ७ लाख २० हजार लिटर अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट छ । प्लान्ट चौविसै घण्टा चलिरहेको अध्यक्ष डा. अधिकारीले बताए । विगतमा ठूलो सिलिण्डर अक्सिजन ५६ घण्टामा सकिने गरेकोमा अहिले मुस्किलले एक घण्टा चल्ने गरेको चिकित्सकहरू बताउँछन् ।
‘हाइफ्लो अक्सिजनको सप्लाई गर्नुपरेको छ’, अस्पताल अध्यक्ष डा. अधिकारीले भने, ‘सेन्टर सप्लाईबाट सिधै अक्सिजन दिँदा कहिलेकाँही अक्सिजनको प्रेसर मेन्टेन गर्न गाह्रो भैरहेको छ ।’
उनले अक्सिजनका ब्याकअप सिलिण्डर राखिएको बताए । लगातार प्लान्ट चलेकोले जुनसुकै बेला पनि समस्या आउनसक्ने हुँदा ‘ब्याकअप’ सिलिण्डर राखिएको छ । यता, चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको पनि आफ्नै अक्सिजन प्लान्ट छ । अस्पतलमा ५० सिलिण्डर छन् । यो अस्पतालमा २० बेड कोरोना संक्रमित क्यान्सरका बिरामीका लागि छुट्टाइएको छ ।
यहाँका ठूला अस्पतालको आफ्नै अक्सिजन प्लान्ट रहेको, अक्सिजनका सिलिण्डरको ‘ब्याकअप’ रहेकोले तत्कालै अक्सिजन नपाएर बिरामी समस्यामा पर्ने अवस्था नरहेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीको भनाइ छ ।
उनले विगत एक महिनादेखि नै अक्सिजन सप्लाइका विषयमा अस्पताल तथा उद्योगहरूसँग निरन्तर सम्पर्कमा रहिरहेको बताए । जिल्लाका केही निजी अस्पतालहरूमासमेत कोराना संक्रमितहरू राख्न थालिएको छ । निजी अस्पतालहरूले भने अक्सिजनको सिलिण्डर नै प्रयोग गर्दै आएका छन् ।
चौविसै घण्टा चल्छन् अक्सिजन उद्योग
चितवनका तीन ठूला अस्पताल बाहेक चितवन रामनगरमा एक मात्रै अक्सिजन उद्योग ओम सञ्जीवनी अक्सिजन सप्लायर्स छ । त्यसका सञ्चालक निरञ्जन न्यौपानेले अक्सिजनको माग अधिक रहेकोले रातभर नसुतेर अक्सिजन सिलिण्डर व्यवस्थापनमा खटिने गरेको बताए ।
१५० घन मिटर प्रति दिन क्षमता रहेको उद्योग अहिले पछिल्लो १२ दिनमा दुई घण्टा मात्रै बन्द भएको बताए । पश्चिम धनगढी, दाङ, वुटवल, काभ्रे, बर्दियादेखि अक्सिजन भर्न सिलिण्डर आउने गरेका छन् ।
उनले दिनमा ५१० ठूलो सिलिण्डर भर्न सकिने बताए । उद्योगमा ४२ सय ठूलो र ८ सय सानो सिलिण्डर छन् । तींमध्ये ४ सय मात्रै ब्याकअप रहेको न्यौपानेले जानकारी दिए ।
नवलपुरको गैंडाकोटमा पूरानो मेडिकल कलेजले सञ्चालन गरेको सिद्धीविनायक अक्सिजन उद्योग छ । उद्योगका इन्जिनियर तथा म्यानेजर किरणकुमार नेपालले उद्योग पूर्ण क्षमतामा चलेको बताए ।
उनको उद्योगले पुरानो मेडिकल कलेजबाहेक चितवनका केही निजी अस्पताल र हेटौडा अस्पतालमा अक्सिजनको सिलिण्डर दिँदै आएको छ ।
दैनिक ४ सय ठूलो सिलिण्डर भर्ने क्षमताको उद्योगसँग २८ सय ठूलो र ७ सय सानो सिलिण्डर छन् । ‘पोखरा, दाङ, नेपालगञ्ज लगायतका ठाउँबाट अक्सिजनका लागि फोन आउने गरेका छन्,’ म्यानेजर नेपालले भने, ‘तर हाम्रो क्षमताभन्दा बढि उत्पादन गर्न सक्दैनौं, उहाँहरूलाई दिन सक्दैनौं भन्नु परेको छ ।’
यी दुई उद्योगका अलवा भरतपुरको हिमाल अक्सिजनको डिपोबाट भाजुरत्न इन्जिनियरिङले ठूलो २५० र सानो १५० सिलिण्डर अक्सिजन बेच्दै आएको छ । चितवन अक्सिजन ग्याँसले ठूलो ४५ र सानो १३ वटा सिलिण्डर बेच्दै आएको छ ।
यी सबै प्लान्ट र डिपोका अक्सिजन सिलिन्डर बिरामी र अस्पतालमा भन्दा बढी कलकारखानामा पुग्ने गरेका थिए । विभिन्न उद्योग तथा कलकारखानालाई दिँदै आएका सिलिण्डरहरू धमाधम तान्ने काम भैरहेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सक्रियता देखाएर चिकित्सक, अस्पताल वा प्रशासनको अनुमतिविना अन्य ठाँउमा अक्सिजन सिलिण्डर दिन रोक लगाइएको छ ।
भाजुरत्नले उद्योगका अलवा चितवन मेडिकल कलेज, नारायणी सामुदायिक अस्पताल, मनकामना अस्पताललगायतलाई पनि अक्सिजन दिँदै आएको छ ।
उद्योग संघ चितवनले जिल्लामा रहेका उद्योगहरूमा प्रयोग गरिएका अक्सिजन सिलिण्डर संघमा जम्मा गरिदिन सबैमा अनुरोध गरेको छ ।
संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले बिहीबारदेखि अक्सिजन ग्यास प्रयोग गर्ने उद्योगमा टेलिफोन गरेर सिलिण्डर संघमा पठाइदिन अनुरोध गरिएको बताए ।
जिल्लाका ४० भन्दा बढी उद्योगमा अक्सिजन ग्यास प्रयोग हुने गरेको उनको भनाइ छ । ती उद्योगबाट ५० भन्दा बढी सिलिण्डर संकलन हुने अपेक्षा गरिएको छ ।
उद्योग तथा व्यक्तिलाई सिलिण्डर होल्ड नगर्न निर्देशन
जिल्ला प्रशासन कार्यालय चितवनले उद्योग तथा व्यक्तिलाई होल्ड गरेका अक्सिजन सिलिण्डर फिर्ता गर्न निर्देशनसमेत दिइसकेको छ । प्रशासनले गत बुधवार राखेको संकट व्यवस्थापन समितिको बैठकले हल्लाको भरमा व्यक्ति तथा उद्योगका लागि भनेर सिलिण्डर होल्ड नगर्न र तत्काल फिर्ता गर्न निर्देशन जारी गर्ने निर्णय गरेको थियो ।
फिर्ता लिनमा कुनै कठिनाइ भए प्रहरीको समेत सहयोग लिने चेतावनी प्रशासनले दिएको छ । चितवनका उद्योग तथा सप्लायर्सहरूले उत्पादन तथा बिक्री वितरण गर्नेमध्ये ५० प्रतिशत अक्सिजन सिलिण्डर उद्योगहरूमा प्रयोग हुन्छ ।
प्रशासन कार्यालयको स्वीकृति विना अन्य जिल्लामा अक्सिजन बिक्री गर्न नपाउने निर्देशनसमेत जारी गरेको छ । स्थानीय तहहरूलाई कम्तीमा आफ्नो तहलाई आवश्यक पर्ने सिलिण्डर खरिद गर्न आग्रह गरेको छ ।
एक टिप्पणी भेजें
0 टिप्पणियाँ