चिनियाँ कम्पनीले मूल्य खुलाउन नमान्दा खोप आएनः त्रिपाठी

२५ जेठ, काठमाडौं । निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले चीनले मूल्य सार्वजनिक गर्न नचाहेका कारण कोरोना खोप खरिद प्रक्रिया अगाडि नबढाएको बताएका छन् ।

नेपालले एक करोड डोप खोप खरिद गर्नेगरी पहिलो खेपमा २० लाख डोज किन्ने प्रस्ताव गरेको थियो । औषधि व्यवस्था विभागले भेरोसेल खोपका लाथि अनुमति दिएपछि नेपालले २० लाख डोज किन्न परराष्ट्र मन्त्रालयले वेइजिङस्थित नेपाली दूतावासमार्फत् कुरा अगाडि बढाएको थियो ।

चिनियाँ कम्पनीले ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्ने प्रस्ताव गरेको भन्दै निवर्तमान मन्त्री त्रिपाठीले भने, ‘उसको डाटा कसैसँग सेयर गर्न पाइँदैन भन्ने कम्पनीको नियम रहेछ ।’

उनले अघि भने, ‘मूल्य खुलाएको भए खरिद प्रक्रिया अघि बढ्थ्यो । नखुलाएको कारण ढिला भयो ।’ २० लाख खोप कति मूल्यमा र कहिलेसम्म दिने भनेर अर्को पत्र लेखेको भन्दै उनले छिट्टै जवाफ आउने विश्वास व्यक्त गरे ।

निवर्तमान स्वास्थ्यमन्त्री त्रिपाठीका अनुसार रसियाबाट उच्चस्तरीय प्रतिनिधि मण्डल आएर आगामी डिसेम्बरसम्म ८० लाख डोज उपलब्ध गराउँछौं भनेको थियो । ‘मैले ४० लाख चाहिँ अलि चाँडै गरिदिनुपर्‍यो भनेको थिएँ’ उनले भने। त्यसको मूल्य पनि खुलाइएको थियो, तर कति-कति डोज कुन-कुन समयमा पठाउने भनेनन् । उनीहरुले खोप पनि पठाएनन् ।’

उनले भारतीय कम्पनी शेरम इन्स्टिच्युटबाट ५० लाख खोप खरिद हुन नसकेको स्वीकार गरे ।

नेपालले सुरुमा प्रतिडोज ४ डलरका दरले २० लाख डोज कोभिसिल्ड खोप किनेको थियो । यो मूल्यमा भारत सरकारले सहयोग गरेको भन्दै उनले भने, उसले चार डलरको दरमा काठमाडौं विमानस्थलमै ल्याइदियो । त्यही बेला बंगलादेशले निकै महंगोमा भारतीय खोप खरिद गरेको थियो ।’

तर खरिद गरेकोमध्ये १० लाख डोज खोप आएको छैन । ५० लाख डोज खरिद प्रक्रिया पनि अगाडि बढेन ।

खरिद प्रक्रिया नबुझेर पनि समस्या भएको भन्दै उनले भने, ‘उसको नेपाल प्रतिनिधिले सरकारले खरिद गरे पनि १० प्रतिशत कमिशन पाउनुपर्छ भन्ने बुझेछ । उसले लगानी गरेर खोप ल्याएको भए मात्र १० प्रतिशत लिन पाउथ्यो ।’

सम्बन्धित देश वा उत्पादकबाट सिधा खरिद गर्दा कमिसन नदिने अडानमा आफू रहेको भन्दै उनले भने, ‘कसैलाई कमिशन नदिने विषयमा प्रधानमन्त्रीसँग लामै छलफल भएको हो । त्यो अडानमा म अन्तिमसम्म बसेँ ।’

शुक्रबार मन्त्री पदबाट हटेका निवर्तमान मन्त्री त्रिपाठीले नयाँ स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई खोप खरिदमा पारदर्शी बनाउन आग्रह गरेका छन् । ‘कहाँ-कहाँ प्रक्रिया अन्तिम चरणमा पुगेको छ भन्ने  जानकारी गराएको छु’ कुराकानीका क्रममा उनले भने, ‘खरिदमा पारदर्शीता अपनाउनु होला, यो जनताको जिउँमा जाने कुरा हो, खोप भनेर कसैले स्लाइनपानी पठाइदेला, त्यसको परीक्षण गर्ने हाम्रोमा ल्याब छैन । लट नम्बर, ब्याच नम्बर लगायत सबै कुरामा ध्यान दिनुपर्छ भनेर सुझाएको छु ।’

धेरैको ज्यान बचाउन नसकेकोमा पश्चाताप छ

निवर्तमान त्रिपाठीले आफ्नो ६ महिने कार्यकालमा जिम्मेवारीबोधका साथ काम गरेको बताए । कोरोनाको दोस्रो लहर चरम विन्दुमा पुगेको बेला आफू जिम्मेवारीमा रहेको भन्दै उनले आफ्नो बर्कतले भ्याएसम्म काम गरेको बताए ।

‘म लामो समय रहिन, तर जति रहेँ इमान्दारी र जिम्मेवारीबोधका साथ गरेर काम गरेँ’ उनले भने, ‘हामीले धेरै मान्छेको ज्यान बचाउन सकेनौं, त्यसमा पश्चाताप छ ।’



एक टिप्पणी भेजें

0 टिप्पणियाँ