महतोको पाँचौ पटकमा उपप्रधान, भण्डारी १५औं पटक पनि मन्त्री

२१ जेठ, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रपरिषद् पुनर्गठन गर्दा जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षका आठ जनालाई मन्त्री र दुई जनालाई राज्यमन्त्री बनाए ।

पार्टीको बहुमत पक्षले दिएको काबारहीको चेतावनीलाई वेवास्ता गर्दै मन्त्री भएकामध्ये अनिल झा दोस्रो तथा लक्ष्मणलाल कर्ण, विमलकुमार श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकवाल मिया पहिला पटकमन्त्री भएका हुन् ।  राज्यमन्त्रीद्धय चन्द्रकान्त चौधरी र रेणुका गुरुङ पहिलो पटक सरकारमा गएका हुन् ।

तर शरत सिंह भण्डारी र राजेन्द्र महतोका लागि मन्त्रीको जिम्मेवार नौलो होइन । लामो प्रतिक्षापछि मन्त्री भएका मात्र हुन् ।

११ भदौ २०६८ मा तत्कालीन माओवादी नेता बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि तत्कालिन मधेसी मोर्चाबाट राजेन्द्र महतो र शरदसिंह भण्डारी मन्त्री बनेका थिए । दुबैको दल भने अलग अलग थियो ।

तत्कालीन सद्भावना पार्टीका नेता महतो स्वास्थ्यमन्त्री थिए भने मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता भण्डारी रक्षामन्त्री ।

त्यसबेला तराई मधेशका युवको नेपाली सेनामा सामूहिक प्रवेश नभए तराई टुक्रिन सक्ने अभिव्यक्ति दिएपछि भण्डारी पदमुक्त भएका थिए ।

उनको अभिव्यक्तिलाई दिएर दलहरुले संविधानसभा बैठक अवरुद्ध अवरुद्ध गरेपछि फोरम लोकतान्त्रिकसँग सहमति लिएर तत्कालीन प्रधानमन्त्री भट्टराईले २ कात्तिक २०६८ मा पदमु्क्त गरेका थिए ।

हारेपछि सत्ताबाट बाहिर

दुबै नेता दवै नेता दोस्रो संविधानसभा निर्वाचनमा पराजित भएका थिए । त्यसयता मन्त्री पद उनीहरुका लागि टाढा बन्दै गएको थियो ।

नयाँ संविधान निर्माणका क्रममा मधेस केन्द्रीत दलहरु मधेसी मोर्चाको नाममा गोलबन्ध भए । आन्दोलन गरे । आन्दोलन ६ दल मिलेर राष्ट्रिय जनता पार्टी (राजपा) बन्यो । २०७४ सालमा भएको प्रतिनिधीसभा निर्वाचनमा राजपा र तत्कालीन संघीय समाजवादी फोरमले तराई मधेसका जिल्लाहरुमा चुनावी तालेमल गर्‍यो ।

महतो धनुषा क्षेत्र नम्बर ३ बाट निर्वाचन लडे । नेपाली कांग्रेस उपसभापति बिमलेन्द्र निधिलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । भण्डारी महोत्तरी क्षेत्र नम्बर २ बाट विजयी भए ।

तर वाम बठबन्धन बनाएर चुनाव लडेको तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी -नेकपा) बन्यो, जसको संसदमा झण्डै दुई तिहाई नजिक बहुमत रहृयो । नेकपाले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीलाई सरकारमा लगेपछि राजपाले समर्थन गरेर पनि मन्त्री पाएन ।

नेकपामा किचलो बढ्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली दल विभाजनलाई सहज बनाउने अध्योदश ल्याएपछि राजपा र सपाबीच वैशाख २०७७ मा रातारात एकता भयो  र जनता समाजवादी पार्टी बन्यो ।

महतोको पाँचौ पटक, भण्डारी १५ औं पटक

केपी ओली नेतृत्वको सरकारमा सहभागी भएसँगै महतोले पाँचौ पटक सत्तामा आएका छन् ।

गिरिजाप्रसाद कोइराला नेतृत्वको २०६३ सालको सरकारमा महतो उद्योग वाणिज्य तथा आपर्तिमन्त्री बनेका थिए । पहिलो संविधानसभाको निर्वाचनपछि पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल नेतृत्वको सरकारमा त्यही मन्त्रालल सम्हालेकाउनी डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा स्वास्थ्यमन्त्री बनेका थिए । यो पटक उपप्रधानमन्त्रीमा बढुवा भए ।

शरदसिंह भण्डारी तराई/मधेशको नाममा राजनीति गर्न शुरु गरेपछि तीन पटक मन्त्री बनेका छन् । पहिलो संविधानसभा निर्वाचनमा तत्कालिन फोरम नेपालबाट संस्कृति, पर्यटन ततथा नागरिक उड्डयनमन्त्री बनेका उनी बाबुराम भट्टराई सरकारमा रक्षामन्त्री थिए ।

तर मधेस राजनीतिमा आउनु अघि नै उनी धेरै पटक मन्त्री भइसकेका थिए । २०४३ सालदेखि हालसम्म राज्यमन्त्रीसहित १५ पटक सरकारमा गएका छन् ।

राजनीतिक अवस्था कमजोर हुँदा मन्त्री

राजेन्द्र महतोसहित मधेश केन्द्रित दल सत्तामा जाँदा देशमा कुनै न कुनै राजनीतिक हलचल भइरहेको देखिन्छ । महतोकै सत्तारोहणलाई मात्रै केलाउँदा उनी देशमा राजनीतिक अस्थिरता उत्पन्न भइरहेको समयमा सरकारमा सहभागी भएका छन् । राजनीतिक विश्लेषक सुरेन्द्र लाभ पनि देशको राजनीतिक अवस्था कमजोर हुँदा मधेस केन्द्रीत दल सत्तामा जाने गरेको बताउँछन् ।

‘राजनीतिक अवस्था कमजोर भएको अवस्थामा बढीभन्दा बढी सांसदको आवश्यक पर्छ । त्यसपछि सत्ता नेतृत्वले त्यसको आधार खोज्छ’ उनी भन्छन्, ‘त्यो आधार खोज्ने बेलामा मधेस केन्द्रीत दलहरु सरकारमा गइहाल्छन् । सबै मधेसी नेताको हाल यस्तै छ ।’

मधेसी दल सत्तामा जाने मौकाको पर्खाइमा रहने र मौका पाउनेवित्तिकै सत्तारोहण गर्न नछाड्ने गरेको उनको विश्लेषण छ । ‘सबैभन्दा बढी सत्ताको भोको मधेसी दल नै हुने गरेको आरोप लाग्ने गर्दछ’ उनी भन्छन्, ‘हुन त सत्ताको भोको सबै हुन्छन् । तर यो बेला मधेसी दलले सत्ताको भोका नभएको पुष्टि गर्न सक्थे । माग पूरा गर्नेलाई धन्यवाद दिएर सरकारमा नजान सकिन्थ्यो । तर त्यसो भएन ।’

 

 



एक टिप्पणी भेजें

0 टिप्पणियाँ