अस्ताए मेनकाजी : जसले ब्रिटिस सपना त्यागेर लोकसंस्कृतिमा जीवन बिताए
१९ जेठ,पोखरा । ब्रिटिस लाहुरेको सपना त्यागेर लोकसंस्कृतिमा ऊर्जाशील जीवन बिताएका मेनकाजी गुरुङको निधन भएको छ । जीवन संगीनी बितेको एक महिना नबित्दै ५८ वर्षको उमेरमा मेनकाजी पनि बितेका हुन् ।
लोकसंस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गरी बचाइराख्नुपर्छ भन्ने मेनकाजीको निधनले अपुरणीय क्षति पुगेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।
उनी गोरखा दक्षिणबाहु पदक र राष्ट्रिय शिक्षा पुरस्कारबाटसमेत सम्मानित भएका थिए ।
डाँफे कला मन्दिरमा प्रवेश
पोखराको डाँफे कला मन्दिरले एकताका देशभरमै प्रशिद्धी कमाएको थियो । कास्की भदौरे तामागीका क्या मीनबहादुर गुरुङले खोलेको मन्दिर पोखराकै कला, साहित्य, संगीत र नृत्यको पाठशाला थियो । नेपालका नामुद कलाकार पनि मन्दिरमा प्रस्तुति दिन आउँथे ।
२०३२ सालमै खुलेको कला मन्दिरका सञ्चालक गुरुङ ‘डाँफे बाजे’का नामले चर्चित थिए । विशेष नृत्य पाठशालाको रुपमा चिनिएको मन्दिरका तिनै ‘डाँफे बाजे’लाई भेट्न सिक्लेसबाट बेग मारेर पोखरा झरेका थिए, मेनकाजी गुरुङ । यो ३०३७ सालतिरको कुरा हो ।
लोकसंस्कृतिको पाठशाला डाँफे कला मन्दिरमा मेनकाजी पुग्नुको कारण भने कलाकार बन्ने थिएन । ‘डाँफे बाजे’लाई फकाएर अर्कै सपना पूरा गर्न मेनकाजीले नृत्य सिक्न थाले ।
प्राय गुरुङ बस्ती पोखरा उपत्यकाभन्दा मास्तिरका अग्ला डाँडाहरुमा छन् । संस्कृतिकर्मी प्राडा जगमान गुरुङकाअनुसार त्यही डाँडाबाट गएर भर्ती भएकाहरु झरेपछि पोखरा पनि लाहुरेहरुको सहर बनेको हो । गुरुङ बाहुल्य रहेको गुजुमुज्ज परेको प्राचिन गाउँ सिक्लेसबाट लाहुरे सपना बोकेर पोखरा झरेका थिए, मेनकाजी ।
प्राय घरपिच्छे लाहुरे रहेका सिक्लेसका मेनकाजीको पनि ब्रिटिस लाहुरे बन्ने सपना थियो । ब्रिटिस सेनाबाट अवकास प्राप्त ‘डाँफे बाजे’ले भनिदिएपछि लाहुरे हुने सम्भावना देखेर उनी कला मन्दिर पुगेका थिए । हुन पनि सिक्लेसका गाउँले दाइ डाँफे कला मन्दिरमा गएपछि त्यसरी ब्रिटिसमा भर्ती भएका थिए ।
नृत्य सिक्न थालेको केही महिनामै भारतीय पेन्सन क्याम्पमा गल्ला आयो । मेनकाजीले भर्ती हुन कुपन लिए । तर ब्रिटिस लाहुरेको सपनाले फेरि त्यहाँ छाती नाप्नै गएनन् ।
डाँफे कला मन्दिरमा गएको चार वर्षपछि मेनकाजीको सपनाको ढोका खुल्यो । डाँफे बाजेले ब्रिटिस लाहुरे हुने प्रवन्ध मिलाइदिए । लाहुरे हुने पक्का भइसकेपछि पनि दुई महिना पोखरामै रहनुपर्ने थियो । त्यो बेला डाँफे कला मन्दिर ‘रोधी घर’ कार्यक्रम लिएर बुटवल, नेपालगञ्ज, दाङ र भारतको सिक्किमसम्म पुग्थ्यो ।
बर्सेनि हुने सांगीतिक यात्रामा काठमाडौंबाट पाण्डब सुनुवार, राम थापा, कुमार बस्नेत, मीरा राणा, सुशीला रायमाझी, शम्भु राईलगायत पोखराबाट डाँफे कला मन्दिरका मेनकाजीसहित सिक्किमसम्म पुग्ने पक्का भइसकेको थियो ।
‘नेपालकै सुप्रशिद्ध कलाकारसँगै सांगीतिक यात्रामा सिक्कम जान लागेको डाँफे मामाले बताएपछि गोराले पनि २ महिना अझै छ जाऊ नाचेर आऊ भनेर पठायो,’ मेनकाजीले ती दिनको किस्सा सुनाउँथे । २ महिनाको सांगीतिक यात्रा सकेर फर्किँदा साथीहरु ब्रिटिस गइसकेका थिए । मेनकाजी छुटे । ‘तर म यहाँ नाच्दै संगीतसँग खेल्न छाडेर गोराको देशमा बन्दुकसँग खेल्न जान्नँ भन्ने भइसकेको थियो । मनमनै ठिकै भो भनेर रमाएँ,’ मेनकाजीले बिगत खोल्थे ।
लाहुरे नभए पनि मेनकाजीलाई सिक्लेस गैरीथर फर्किनु परेन । नाचेर, रमाएरै जीवन बिताए । लाहुरे हुने सपनाको मूल ढोका बन्द गरेर मेनकाजीले लोक नृत्य र संस्कृतिसँग रमाउने रहरको ढोका खोले । त्यसयता लोक नृत्यको राजमार्गबाट मेनकाजी बिचलित भएनन् । बरु यही क्षेत्रलाई व्यवसायिक बनाए । जीवन नै लोक संगीत र संस्कृतिको क्षेत्रमा बिताइदिए ।
डाँफे कला मन्दिरबाट नृत्य मास्टर भएका मेनकाजीले नेपालदेखि भारत, पाकिस्तान र बंगाली फिल्ममासमेत काम गरे । नाचे र कोरियोग्राफी गरे । पोखरामा नाट्य क्षेत्रमा सक्रिय भए । हाँस्य प्रहशन लिएर काठमाडौं पुगे । निजी स्कुलमा नृत्य शिक्षक राख्नु पर्छ भन्ने पोखरामा ट्रेन्ड बसाले । जीवनभर नयाँ पुस्तालाई लोक नृत्य र संस्कृति सिकाइरहे । नेपालभरका लोक नृत्यलाई एउटै मञ्चमा ल्याए ।
मेनकाजीले डाँफे कला मन्दिर हुँदै हिमाली सांस्कृतिक परिवारमार्फत लोक संस्कृतिको प्रवर्द्धनमा लागिरहे । पोखरामा कुनै लोक नृत्य, सांस्कृतिक उत्सव वा कुनै ठूला कार्यक्रम होस् र त्यहाँ मेनकाजी तथा हिमाली सांस्कृतिक परिवार नहोस्, प्राय त्यो सम्भवै नहुने अवस्थासम्म ल्याए ।
सिक्लेसमाथि लेकतिरको भेंडीगोठ र गाउँघरैकै रोधि मेलापातमा मेनकाजीले बाल्यकाल बिताए । त्यो नै उनको पहिलो लोक संस्कृति र नृत्यको पाठशाला बन्यो । सिक्लेसमा उमेर समूहअनुसार ३ प्रकारका रोधि हुन्थे । ‘एक गाउँबाट अर्को गाउँमा रोधी जाने, दिनभरको थकान नाचेर, गाएर मेटिन्थ्यो,’ मेनकाजीको भनाइ थियो, ‘तर पछिल्लो समय रोधिलाई विकृत दृष्टिकोणले हेर्न बनाइयो । यो गाउँको सभ्यता र संस्कृति पो हो त । नयाँ पुस्तालाई बुझाउनु पर्ने छ ।’
गाउँमै लोकसंस्कृतिमा भिजेका मेनकाजीलाई डाँफे कलामन्दिर राम्रो पाठशाला बन्यो । पोखरामै प्रत्यक्ष दोहोरी प्रतियोगिताको चलन डाँफेले बसाएको उनी बताउँथे । ‘डाँफे नृत्य, संगीत, नाटक र कला साहित्यको समेत गतिलो मञ्च थियो । एउटा कल्पना सिनेमा हल थियो, अरु थिएनन्,’ मेनकाजी सम्झन्थे, ‘पूर्व पश्चिमबाट नृत्य मास्टरसमेत ल्याएर नाच सिकाइन्थ्यो ।’
सरोज गोपालहरुले डाँफेमै गीत गाउँथे । राघवलाल वैद्य, तीर्थ श्रेष्ठ, सरुभक्तहरुले नाटक मञ्चन गर्न थाले । डाँफे नृत्यको स्कुल नै भएको उनी सुनाउँछन् । डाँफेको इतिहास र लोकसंस्कतिलाई मर्न नदिने जमर्को आफूले गरेको मेनकाजीको भनाइ थियो ।
अर्जुनजङ्ग शाहीदेखि नारायण गोपाल, गोपाल योञ्जनजस्ता सुप्रशिद्ध हस्तीहरु पोखरा आउँदा प्रस्तुति दिने थलो त्यही बगरको डाँफे कला मन्दिर नै थियो । जसको एउटा सारथी हुन पाउँदा मेनकाजीको छाती गर्वले फुल्थ्यो ।
नृत्यमा भारतको इलाहाबादबाट डिप्लोमा कोर्ष गरेका मेनकाजीले ‘कान्छी’ फिल्ममा पहिलो पटक काम गरेका थिए, नृत्य र कोरोयोग्राफीमा । चर्चित नृत्य निर्देशक बसन्त रायमाझी मेनकाजीका गुरु थिए । उनैले थुप्रै नेपाली फिल्म नृत्यदेखि निर्देशनसम्म गराएका थिए । कान्छी, सन्तान, के घर के डेरा जस्ता फिल्ममा मेनकाजीले काम गरेका थिए भने भारतीय, बंगाली र पाकिस्तानी फिल्ममा समेत काम गरेका थिए । ‘यो सबै कुराको प्रबन्ध गुरु बसन्त रायमाझीले गर्नुभएको हो । एक दर्जन नेपाली फिल्ममा काम गरें । काका चेतन कार्कीले पनि प्रोत्साहन गर्नुहुन्थ्यो,’ मेनकाजी भन्थे, ‘कल्याण शेरचन, पूर्ण नेपालीहरुले पनि लोकसंस्कृतको क्षेत्रमा काम गर्न अभिप्रेरित गर्नुभयो ।’
नारायण गोपाल राष्ट्रिय नाचघरको प्रबन्ध निर्देशक हुँदा आफू र वीरबहादुर गुरुङले अभिनय गर्दा हरिवंश र मदनकृष्ण जोडीको जस्तै प्रस्तुति भन्दै सञ्चार माध्यममा आएको खबरले मेनकाजीलाई खुसी दिलाइरहन्थ्यो ।
३६ वर्षसम्म पोखरामा विद्यार्थीलाई नृत्य र लोकसंस्कृति सिकाए । २० वर्षसम्म पोखराबाट सांस्कृतिक झाँकीसहितको प्रहरीको नृत्य टोली लिएर प्रहरी तालिम केन्द्र काठमाडौं गएका थिए । पूर्व राजा वीरेन्द्र र ज्ञानेन्द्र शाह परिवार पोखरा रत्न मन्दिरमा बस्दा नृत्य र सांस्कृतिक झाँकी देखाउने जिम्मा उनै मेनकाजीले पाउँथे ।
‘थुप्रै पटक प्रशंसा गर्दै वीरेन्द्रले काँधमा थम्थमाए,’ उनले भन्थे । झ्याउरे, कौरा, सोरठी, बालन, कृष्ण चरित्र, पश्चिमको थारु नाचदेखि पूर्वको धान नाचसम्म एउटै मञ्चमा देखाउने काम उनले गरे ।
१९८८ मा एभरेस्ट कल्चर ग्रुपसँग मिलेर डाँफे कला मन्दिरबाट पोखराका ३ जना कलाकार फ्रान्स, स्पेन, इंग्ल्याण्डलगायतका देश पुगेर २ महिनासम्म नेपाली लोक संस्कृतिको प्रस्तुति राखेका थिए । ‘जतिबेला विदेशमा नेपालीले यस्ता कार्यक्रम एकदमै कम लान्थे र लगेकाहरु पनि धेरैजसो लुक्थे,’ मेनकाजीको भनाइ थियो, ‘तर हामी फर्किएर फेरि लोक संस्कृतिकै क्षेत्रमा लाग्यौं ।’
मेनकाजीले २०६१ सालमा गोरखा दक्षिण बाहु प्राप्त गरेका थिए । राष्ट्रिय शिक्षा पुरस्कारबाट पनि पुरस्कृत भए ।
हिमाली सांस्कृतिक परिवारको जन्म
क्या. मीनबहादुर (डाँफे बाजे) को मृत्युपछि डाँफे कला मन्दिर सेलायो । पोखरामा लोक नृत्य र संस्कृतिको क्षेत्रमा काम गर्ने संस्था नै भएन । त्यसपछि मेनकाजीहरुकै अगुवाइमा पोखरामा हिमाली सांस्कृतिक परिवार खुलेको हो ।
त्यसको पछाडि अर्को कथा छ । विदेशमा प्रस्तुति राख्ने अवसर काठमाडौंले मात्र पाउने तर पोखरा छायामा पर्ने कुराले उनलाई पिरोलिरहन्थ्यो । हुन त उनी त्यसअघि नै कार्यक्रम लिएर हङकङ, सिंगापुर, ब्रुनाइ गइसकेका थिए । तर, पोखराका अन्य कलाकारले खासै अवसर पाएका थिएनन् । २०५२ सालमा उनको नेतृत्वमा ६ जना कलाकार २/२ लाख रुपैयाँ खर्चेर हङकङ गए । कार्यक्रम सफल भए ठिकै छ नत्र चिठ्ठा नै भयो भनेर हङकङ गएका उनीहरुले धेरैको मन जिते । कार्यक्रमबाट फर्किँदा सबै हिसाब कटाएर ९५ हजार रुपैयाँ बचत भयो ।
त्यो पैसा के गर्ने भन्ने सल्लाह हुँदा संस्था खोलेर काम गर्ने अवधारणासहित २०५३ सालमा हिमाली सांस्कृतिक परिवार खुलेको हो । टीका कार्की, बलराम केसी, यम गुरुङ, शिवशंकर रञ्जितसमेतको अगुवाइमा रुबेनबाबु थापाको अध्यक्षतामा खुलेको हिमाली सांस्कृतिक परिवारमा मेनकाजी उपाध्यक्ष बसे । त्यसयता हिमाली सांस्कृतिक परिवारले पोखरामात्रै नभएर देशका विभिन्न ठाउँमा लोक नृत्य र संस्कृतिका क्षेत्रमा हस्तक्षेप गर्दै आइरहेको छ । मेनकाजीले लामो समय हिमाली सांस्कृतिक परिवारलाई नेतृत्व दिँदै आइरहेका थिए ।
कोरोनाका कारण जीवनसंगीनी गुमाएको एक महिना पनि नबित्दै संस्कृतिकर्मी मेनकाजीको पनि मंगलबार निधन भएको छ । उनको निधनले पोखराकै लोकसंस्कृतिको क्षेत्रमा क्षति पुगेको कला, साहित्य, संगीत र संस्कृतिकर्मीले बताइरहेका छन् ।
‘आफैं नृत्यका कुशल कलाकार थिए, असल प्रशिक्षक थिए । देशभरका संस्कृतिलाई जोड्ने एक संस्कृतिकर्मी र अभियन्ता थिए, मेनकाजी,’ संस्कृतिकर्मी तथा कवि तीर्थ श्रेष्ठले भने, ‘उनी समाजसेवा र लोकसंस्कृतिलाई असाध्यै माया गर्ने एक साधक थिए ।’
लोक संग्रहालयको सपना
मेनकाजीले पोखरामा लोक संस्कृति संग्रहालय खोल्न चाहन्थे । विशेष गरी गण्डकी प्रदेशभरिका लोक नृत्य र संस्कृतिसँग सम्बन्धित बाजा, भेषभूषा र परम्परागत नृत्यसँग जोडिएका सामग्रीहरुसहितको संग्रहालय खोल्न मेनकाजीले पहल गरिरहेका थिए । मेनकाजीको सपना पूरा गर्ने हिमाली सांस्कृतिक परिवारले जनाएको छ । पोखरामा बर्सेनि लोकसंस्कृतिको क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई सम्मान र पुरस्कृतसमेत गर्दै आएको छ ।
पोखराले नयाँ पुस्तालाई लोकसंस्कृति हस्तान्तरण गर्नुपर्छ र परम्परागत सम्पति बचाइराख्नुपर्छ भन्ने ऊर्जाशील व्यक्ति गुमाएको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले बताए ।
‘नवकलाकारलाई माया गर्ने, लोक संस्कृतिको संरक्षणबारे सोचिरहने, संस्कृतिलाई नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ भन्ने ऊर्जावान मान्छे पोखराले गुमायो,’ गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्रेष्ठले भने ।
एक टिप्पणी भेजें
0 टिप्पणियाँ